वैशाख २६, २०७३ अभियान आर्थिक दैनिक
निजी मोबाइल फोन सेवा प्रदायक कम्पनी एनसेलले सरकारलाई रू. ९ अर्ब ९६ करोड ९५ लाख ७१ हजार कर बुझाएको छ । अग्रिम कर कट्टी वापत आइतबार उसले यो रकम कर कार्यालयमा बुझाएको हो ।
यो रकम एनसेलले प्राप्त गरेको पूँजीगत लाभकरको १५ प्रतिशत रहेको र बाँकी १० प्रतिशत बिक्रेता टेलिया सोनेराबाट असुल गराउने बताइएको छ ।
हालै मलेशियाको एक्जियटाले टेलियासोनेरा तथा भाइजरसँग रहेको एनसेलको ८० प्रतिशत स्वामित्व एक अर्ब ३६ करोड ५१ लाख डलरमा खरीद गरेको थियो । एनसेलले उक्त कारोबारको पूँजीगत लाभकर सरकारलाई तिर्नु पर्छ कि पर्दैन भन्नेबारे संचार माध्यम र सामाजिक सञ्जालमा समेत चर्चा चलेको थियो ।
गत अप्रिलमा खरीद प्रक्रिया टुङ्ग्याए पनि कर तिर्न आनाकानी गरेको एनसेलले सबैतिरबाट दबाव आउन थालेपछि र कर तिर्न सरकारले आइतबारसम्मको समयसीमा दिएपछि उसले करीव रू. १० अर्ब कर बुझाएको हो ।