Tuesday , September 27 2022
Home / Business / युट्युब पैसा र प्रसिद्धिका लागि प्रभावकारी प्लेटफर्म :: नेपाल राष्ट्रिय साप्ताहिक

युट्युब पैसा र प्रसिद्धिका लागि प्रभावकारी प्लेटफर्म :: नेपाल राष्ट्रिय साप्ताहिक

गोकर्ण गौतम :

कान्तिपुर मिडिया गु्रप (केएमजी)को परिवर्तन अभियानमा कार्टुन्ज क्रुले दरबारमार्गमा डान्स पर्फम गरेको थियो तीन वर्षअगाडि । क्रुका एक फ्यानले मोबाइलबाट भिडियो खिचेर फेसबुकमा अपलोड गरिदिएछन् । हिप–हप र बी–बोइङ शैली मिसाइएको त्यो डान्स नेपालका लागि नौलो थियो, एकाध स्टेज सोमा देखिने भए पनि सोसल मिडियासम्म पुगिसकेको थिएन । त्यसैले त फेसबुकमा त्यो भिडियो भाइरल बनिदियो, सेयर मात्रै ६ हजार । झन् युट्युबमा हाल्ने हो भने कति हिट होला ? क्रुका लिडर सविन कार्कीलाई लोभ पलायो । 

नभन्दै उनले युट्युबमा अपलोड गरे पनि । “भिडियोले हामीले नसोचेको भ्युअर्स र प्रशंसा पायो । जबकि, हाम्रा लागि त्यो सामान्य पर्फम मात्र थियो,” सविनले सम्झिए, “त्यसैले सक्दो राम्रो डान्स गरेर अपलोड गर्ने हौसला मिल्यो ।”

एकातिर युट्युबमा अपलोड गरेको पैसा नलाग्ने, अर्कोतिर संसारभरका प्रयोगकर्ताले हेर्न पाउने, सित्तैँमा प्रचारप्रसार । यत्ति भएपछि के चाहियो, सविनको समूह जुर्मुरायो । आफ्नै युट्युब च्यानल खोले, ‘बिस्ट अफिसियल’ । यो च्यानल झन्डै १२ हजार सब्सक्राइब र २० लाख भ्यु भइसकेको छ । युट्युबले उनीहरूलाई टिनएजरमार्फत स्टार त बनाएकै छ, सँगै प्रतिस्टेज सो २५ हजार रुपियाँ पारिश्रमिक लिन थालेका छन् ।

विजय घिमिरे र प्रीति घिमिरेको जोडी सधैँ गीत गाउँथ्यो, लाइभ सुन्नेले प्रशंसा गर्थे । तर, आममानिससम्म उनीहरूको गीत पुग्न सकेको थिएन । बेलायतमै रहँदा ‘कुसुमे रुमाल…’को कभर गाए, त्यसको भिडियो खिचे र युट्युबमा अपलोड गरे । भिडियोमा माइकका अगाडि विजय र प्रीतिले गीत गाएको मात्र देखाइएको थियो तैपनि केही दिनमै हजारौँले हेरे, डाउनलोड पनि उस्तै, युट्युब, जिमेल र फेसबुकमा म्यासेजको ओइरो । विजय मुस्कुराए, “त्यसपछि त कभर सङ गाएर युट्युबमा अपलोड गर्नु लतजस्तै  बनिसकेको छ । संसारभर छरिएका नेपालीलाई हाम्रो गीत सुनाउन पाएका छौँ ।” 

कभर सङमा नेपालकै सबैभन्दा लोकप्रिय जोडी हो यो । मोबाइलको ग्यालरीमा समेत उनीहरूका भिडियो अटाएका हुन्छन् । चार वर्षमा उनीहरूको अफिसियल युट्युब च्यानल ‘भीजे म्युजिक’ २६ हजारले खरिद गरेका छन् भने करिब ५३ लाख भ्यु पाएको छ ।
कार्टुन्ज क्रु र विजय–प्रीतिको जोडीमा क्षमता त थियो नै तर युट्युब नहुँदो हो त यति छोटो समयमै लोभलाग्दो सफलता पाउने थिएनन् । उनीहरू स्वयं युट्युब ‘वरदान’ भएको स्वीकार्छन् । विश्वको सबैभन्दा लोकप्रिय भिडियो स्ट्रिमिङ साइट युट्युबको सहारामा सफलता कमाउने सविनको समूह र विजय–प्रीति मात्र होइन, आशिष प्रसार्इं, आयुष रिमाल, सन्तोष क्षत्री र भीमफेदी गाइजले पनि युट्युबमा सिर्जनात्मक भिडियो अपलोड गरेर चर्चा कमाइरहेका छन् । 

नेपालमा फेसबुक र गुगलपछि सबैभन्दा धेरै ब्राउज हुने साइटमा पर्छ युट्युब । हात–हातमा स्मार्टफोन र इन्टरनेटको सहज पहुँचले युट्युबको दायरा बढाएको छ । केही कुरा सिक्न वा मनोरञ्जन गर्न युट्युब नै ब्राउज गर्नेको जमात बढेको छ । अनि, यसकै फाइदा उठाइरहेका छन्, सविनजस्ता जुझारु युवाले । प्रविधि प्लस युट्युब उनीहरूलाई क्षमता देखाउने सहज, सरल र प्रभावकारी माध्यम बनिरहेको छ । र, युट्युबमैत्रीमाझ उनीहरूले स्टार र सेलिब्रिटीको दर्जा पाइरहेका छन् । जस्तो : प्रयांक गर्न खप्पिस आशिषकै कुरा गरौँ न ।

तीन वर्षअघिसम्म आशिष आमयुवा मात्र थिए तर युट्युब र त्यसमा अपलोड गरिएका प्रयांक भिडियोले उनलाई ‘प्रयांक स्टार’को परिचय दिलाएको छ । अपरिचितसँग ठट्टा गर्नु, कहिले हँसाउनु्, कहिले कन्पारो तताउनु अनि यी सबै दृश्य पर कहीँबाट लुकाएर क्यामेरामा कैद गर्नु । हल्का सम्पादन गरेर युट्युबमा अपलोड गर्नु । आशिषको दैनिकी बनेको छ । विदेशमा प्रयांकलाई रमाइलो मानिन्छ, प्रयांक गर्नेलाई सम्मान गरिन्छ । 

नेपालमा भने प्रयांक कल्चर नबसेकाले सुरुमा आशिषलाई गाली र खिसिट्युरी गर्ने धेरै थिए । तर, युट्युबबाट विश्व नियालिरहेका नयाँ पुस्ताले आशिषको प्रयांक रुचाउँदै गए, र त उनको अफिसियल युट्युब च्यानल २६ हजारले सब्सक्राइब र ३६ लाखले भिजिट गरिसकेका छन् । “युट्युब नहुँदो हो त, न मलाई प्रयांक गर्ने जोस आउँथ्यो, न यति धेरै माया पाउँथेँ,” आशिष भन्छन्, “किनभने, युट्युबमा विदेशी प्रयांक हेरेपछि मात्र नेपाली प्रयांकमा रमाउन थालिएको हो ।” 

भिडियोबाट बिस्तारै पैसा आउन थालेपछि उनी अझ हौसिएका छन् । उनको समूहमा प्राविधिकसहित ६ जना छन् । प्रत्येक साताजसो नयाँ–नयाँ स्वादका प्रयांक भिडियो अपलोड गर्छन् । उनीसँग आबद्ध सवनम राईलाई नेपालकै पहिलो लेडिज प्रयांक स्टार मानिन्छ ।

फरक शैलीका डान्स र कमेडी भिडियोप्रेमीमाझ भीमफेदी गाइज हिट छ । मकवानपुरको भीमफेदीबाट पाँच वर्षअगाडि युट्युबमा भिडियो अपलोड गर्दा समूहका सदस्यले कुनै दिन पारिश्रमिकसहित कभर भिडियोको अफर आउँछ भन्ने सोचेका थिएनन् । किनभने, उनीहरूले डान्सको रहर पूरा गर्न मात्र युट्युबमा सेयर गरेका थिए । तर, क्षमता र त्यसलाई व्यापकता दिने माध्यम भएपछि कसको के लाग्छ ?

सामान्य डिजिटल क्यामेराबाट यात्रा सुरु गरेका उनीहरू अहिले उच्च गुणस्तरको भिडियो अपलोड गर्ने सामथ्र्य राख्छन् । डान्स मात्र होइन, सर्ट फिल्म पनि । फिल्म अधकट्टीको ‘फिगर कोकाकोला…’, ‘सुर्केथैली…’, ‘आई लभ यू…’लगायत आधा दर्जन गीत पारिश्रमिक लिएर कभर डान्स गरेको समूहका लिडर निर्मल लामाले जानकारी दिए । यसो हुनु भनेको उनीहरू गीत वा फिल्म हिट गराउने माध्यमका रूपमा स्थापित हुन लागेको संकेत हो । निर्मल भन्छन्, “पैसा र प्रशंसा दुवै कमाउन थालेपछि हाम्रो सम्पूर्ण ध्यान सकेसम्म रोचक डान्स र सर्ट फिल्म बनाएर युट्युबमा अपलोड गर्न केन्द्रित छौँ ।”

बिस्तारै भिडियोमोह बढ्दै गयो । पछि क्यानन डीएसएलआर ६ सय डी क्यामेरा फेला परेपछि त झन् धेरै भिडियो बनाउन थाले । “सम्झना र संग्रहका लागि मात्र युट्युबमा भिडियो अपलोड गर्न थालेँ,” आयुषले अमेरिकाबाट सुनाए, “तर, बिस्तारै लोकप्रिय हुन थाले, अझ टिनएजमा । अनि त, भिडियो बनाउन थप जोस पलायो ।”

‘नेपाली युट्युबर’का रूपमा परिचित आयुष फिल्मको प्यारोडी ट्रेलर, प्रयांक, कमेडी एक्ट गर्न रुचाउँछन् । उनको अफिसियल युट्युब च्यानलले ३२ हजार ७ सय सब्सक्राइव र करिब ४४ लाख भ्यु पाइसकेको छ । भिडियोमा रुचि राख्नेका लागि युट्युबजस्तो क्षमता देखाउने उपयुक्त माध्यम अरू कुनै नभएको आयुषको निष्कर्ष छ । भन्छन्, “भिडियो रोचक मात्र हुनुपर्‍यो, भाइरल हुन बेरै लाग्दैन ।”

युट्युबमा आफैँले बनाएका प्यारोडी, प्रयांक, सन्देशमूलक र म्युजिक भिडियो सेयर गरेर चर्चा कमाउने अर्का तन्नेरी हुन् सन्तोष क्षत्री, २२ । बुटवलका सन्तोषले पनि ख्यालख्यालैमा युट्युबमा भिडियो अपलोड गरेका थिए तर त्यही भिडियोले साथीभाइमा सीमित उनको लोकप्रियता जनमानसमा पुर्‍यायो । नचिनेका मान्छेबाट पनि भिडियोको प्रशंसा गर्दै म्यासेज पाउन थालेपछि सन्तोष नफुर्किनु पनि कसरी ? त्यसपछि त उनी दिलोज्यानले भ्याएसम्म क्रियटिभ भिडियो अपलोड गर्न थाले ।

अफिसियल युट्युब च्यानल डायनामाइट्स प्रोडक्सन तीन वर्षमा १० हजार खरिद र ३३ लाख भ्यु भएबाट पनि सन्तोषको सफलता आकलन गर्न सकिन्छ । सुनाउँछन्, “पहिले टाइमपास र रमाइलोका लागि युट्युबमा भिडियो राखिन्थ्यो तर पैसा र प्रसिद्धि पनि युट्युबले नै दिन थालेको छ । सिर्फ भिडियोले अडियन्सको मन जित्नु पर्‍यो ।”

अडियन्सको संख्या बढेसँगै युट्युबमार्फत आफ्ना सिर्जनात्मक भिडियो सेयर गरेर ख्याति कमाउने नयाँ पुस्ताको जमात पनि बढेको छ । देशभित्र मात्र होइन, आयुष र विजयजस्ता दर्जनौँ तन्नेरीलाई नेपाली अडियन्ससँग इन्गेज हुने दरिलो माध्यम बनेको छ, युट्युब । अमेरिकामा रहेकी कभर सङ सिंगर निक्की कार्की र अस्ट्रेलियाको डान्स गु्रप द नेक्स्ट यही सूचीमा पर्छन् ।

उसो त युट्युब क्षमता देखाउने मात्र होइन, सिक्ने थलो पनि हो । जस्तो : कार्टुन्ज क्रुका हरेक सदस्यको डान्स गुरु युट्युब नै हो । युट्युबबाटै उनीहरूले बि–बोइङ र हिप–अप सिकेका हुन् । आशिषले कतिपय प्रयांक युट्युबबाटै प्रभावित भएर गर्छन् । आफूजस्तै युट्युबमा रम्ने तन्नेरीलाई जम्मा पारेर ‘नेपाली युट्युबर कम्युनिटी’ खोल्न लागिपरेका आशिष भन्छन्, “सिर्जनात्मक क्षमता हुने तर प्रचारप्रसार गर्न पैसा नहुने हामीजस्ता युवाका लागि युट्युब प्रभावकारी प्लेटफर्म हो । यसले हामीलाई इन्टरनेटमा बरालिएर समय खेर फाल्नभन्दा नयाँ काम गर्न हौसला पनि दिएको छ ।”
नेपाल राष्ट्रिय साप्ताहिकमा प्रकाशित: चैत्र २३, २०७२

4019 Total Views 10 Views Today

About Narayan Kafle

Check Also

मंसिर पहिलो साता स्थानीय चुनाव: प्रधानमन्त्री :: अन्नपुर्ण पोस्ट

काठमाडौं: बैशाख २६, २०७३ अन्नपुर्ण पोस्ट  प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिर पहिलो साताभित्र स्थानीय ...

Leave a Reply

Your email address will not be published.