जेठ ३, २०७३ सेतोपाटी
श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारलाई स्मार्ट कार्ड वितरण गर्ने तयारी गरेको छ। मन्त्रालयका प्रवक्ता तथा सह–सचिव गोविन्दमणि भुर्तेलको संयोजकत्वमा मन्त्रालयले स्मार्ट कार्ड लागू गर्ने विषयमा समिति बनाएको थियो ।
भुर्तेल संयोजकत्वको समितिले स्मार्ट कार्ड लागू गर्ने मापदण्ड बनाएर मन्त्री दीपक बोहरालाई बुझाइसकेको छ। स्मार्ट कार्ड बाड्ने विषयमा गृहकार्य भइरहेको र छिट्टै बाँडिने मन्त्री बोहराको सचिवालयले जनाएको छ।
स्मार्ट कार्ड लागू भएपछि विदेश जाने प्रक्रिया सबै त्यस कार्डबाट नै हुने मन्त्रालयले जनाएको छ। यसअघिका श्रम मन्त्री टेकबहादुर गुरुङले विदेशमा काम गर्न जाने कामदारलाई स्मार्ट कार्ड वितरण गर्ने निर्णय गरेका थिए। सोहीअनुरुप श्रम मन्त्रालयले स्मार्ट कार्ड वितरण गर्ने तयारी सुरु गरेको हो।
स्मार्ट कार्ड लागू भएपछि वैदेशिक रोजगारीमा देखिएको समस्या हट्ने मन्त्रालयले विश्वास लिएको छ। अहिले सरकारसँग विदेश जाने कामदारको तथ्यांक छैन, स्मार्ट कार्ड लागू भए विदेशिएका कामदारहरुको यकिन तथ्यांक पनि सरकारसँग हुने मन्त्रालयको विश्वास छ।
स्मार्ट कार्ड लागू गर्ने विषयमा आफूहरुसँग छलफल नगरेको वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ । संघका महासचिव रोहन गुरुङले कामदारलाई स्मार्ट कार्ड वितरण गर्ने सरकारी तयारी सकरात्मक भएपनि आफूहरुसँग मन्त्रालयले छलफल नगरेको बताए।
यसैबीच म्यानपावर व्यवसायीहरुले भने कामदारलाई स्मार्ट कार्ड दिने निर्णय धेरै राम्रो भएको बताएका छन्। जावलाखेलस्थित लक्की एचआर सोलुसन प्रालिका डाइरेक्टर एमएस काप्रीले स्मार्ट कार्ड लागू भए सबैभन्दा बढी फाइदा कामदारलाई नै पुग्ने बताए।
विदेश जादाँ कामदारले बोक्नुपर्ने विभिन्न कागजातको पोको पनि बोक्न नपर्ने उनले सुनाए। पासपोर्ट र स्मार्ट कार्ड बोकेर मात्र कामदार विदेश जान पाउने उनले बताए। स्मार्ट कार्ड नेपालको अध्यागमन विभागमा पनि प्रयोग हुने र त्यसको तथ्थांक विभागसँग पनि रहने उनले बताए। स्मार्ट कार्डमा पासपोर्टमा भरिने सबै डाटा समावेश गर्न उनले सरकारलाई सुझाव दिए।
9174 Total Views 2 Views Today