पहिलोपोस्ट –
काठमाडौँ : राजधानीमा गत वर्ष मंसिर १० र ११ गते दुई दिन भएको १८ औँ सार्क शिखर सम्मेलनका लागि कूल २ अर्ब ५ करोड खर्च भएको महालेखा परीक्षकको प्रतिवेदनले सार्वजनिक गरेको छ।
महालेखापरीक्षक भानुप्रसाद आचार्यले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज अपराह्न राष्ट्रपति कार्यालयमा प्रस्तुत गरेको महालेखापरीक्षकको ५३औँ वार्षिक प्रतिवेदनमा रहेको विवरण अनुसार सार्कका लागि छुट्याइएको बजेटभन्दा बढी रकम खर्च भएको हो।
सार्कका लागि १० मन्त्रालयअन्तर्गत २ अर्ब १ करोड ४४ लाख बजेट व्यवस्था गरिएको थियो तर खर्च भने २ अर्ब ५ करोड २१ लाख भएको थियो।
सार्क सम्मेलन सञ्चालन गर्न नेपाली सेनाले चालु खर्चतर्फ रु.२ करोड ७४ लाख र पुँजीगततर्फ रु.१० करोड ९४ लाखसमेत कूल रु.१३ करोड ६८ लाख खर्च गरेको थियो।
प्रतिवेदन अनुसार सम्भाररथी विभाग (प्राप्ति)ले विभिन्न सामग्री फास्टट्रयाकबाट खरिद गर्न मन्त्रिपरिषद्को निर्णय अनुसार स्वीकृति लिई एक सप्लायर्ससँग मंसिर २५ गतेभित्र आपूर्ति गर्ने गरी रु.७५ लाखको सम्झौता गरेको थियो।
तर उक्त सामान मंसिर १७ गते सार्क सम्मेलनै सकिएपछि मात्र आपूर्ति भएको प्रतिवेदनमा उल्लेख छ।
त्यस्तै पाँच किसिमका रु.१८ लाख मूल्यका सामान आपूर्ति नै नगरेको प्रतिवेदनमा उल्लेख छ।
सम्मेलनको लागि सिंगापुरको एक कम्पनीसँग रु.१ करोड ४४ लाख ६५ हजार मूल्यको उपकरण खरिद गर्न कात्तिक १३ गते सम्झौता भएको थियो। सम्झौता अनुसार उपकरण तीन महिनाभित्र आपूर्ति गर्नुपर्ने थियो। तर सम्मेलन सकिएको महिनौँपछि अर्थात् २०७२ साल असार ११ गते मात्र सामान आपूर्ति भएको प्रतिवेदनले देखाएको छ।
नेपालको संविधानको धारा २९४ अनुसार सबै सरकारी कार्यालय, नेपाल सरकारको पूर्ण स्वामित्वका सङ्गठित संस्था, बोर्ड, परिषद्, समिति तथा जिविसको आव २०७१/७२ को आर्थिक कारोबारको लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरिएको हो ।
लेखापरीक्षणका माध्यमबाट सार्वजनिक वित्तीय व्यवहार सञ्चालनमा जिम्मेवारी तथा जवाफदेहिता पालना सम्बन्धमा प्राप्त नतिजा तथा तिनको समालोचना एवम् सुझाव प्रतिवेदनमा समेटिएका छन्।
– See more at: http://www.pahilopost.com/content/-15106.html#sthash.uZ1G6ejH.dpuf