काठमाडौं, ३० चैत । २०७२ सालको अन्तिम दिन प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गरेका छन् । मंगलबार अपराह्न मन्त्रिपरिषदको कार्यालय सिंहदरबारबाट सम्बोधन गर्दै ओलीले २०७२ सालमा नेपालले महत्वपूर्ण उपलब्धि प्राप्त गरेको बताए ।
संविधान निर्माणलाई महत्वपूर्ण उपलब्धि भन्दै प्रधानमन्त्री ओलीले बाह्य हस्तक्षेपको चलन पनि तोडिएको बताए । भारतको नांगो हस्तक्षेपतर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले अब देश विदेशीको प्रयोग नबन्ने भन्दै आफ्नै बलबुतामा विकास र समृद्धिलाई अगाडि बढाउने बताए ।
वार्ताबाटै समाधान खोज्न आन्दोलनरत मधेसवादी दललाई आग्रह गर्दै ओलीले सहमतिमा आउन अपील पनि गरेका छन् । प्रधानमन्त्री ओलीले भने– “लोकतन्त्र लगामबिनाको घोडा बन्न सक्दैन । लोकतन्त्रका विभिन्न आयाम हुने भएकाले अराजकता स्वीकार्य हुँदैन ।”
प्रधानमन्त्रीले चाडवाडका बेला जनताले मट्टितेल नपाएको, जीवन रक्षक औषधि नभएको र मुलुक अघोषित नाकाबन्दीको चपेटामा परेको असाध्यै अप्ठ्यारो अवस्थामा सरकार गठन भइ ६ महिना पूरा गरेको बताए ।
राष्ट्रियता, लोकतन्त्र, जनजीविकाको आन्दोलनमा आधा शताब्दी बिताएको र १४ औँ वर्ष जेल बसेको व्यक्ति कसरी विभेदकारी हुन सक्छ, भन्दै प्रधानमन्त्रीले प्रश्न गरे ।
प्रधानमन्त्रीले जनताको मागअनुसार जारी भएको संविधानप्रति असन्तुष्टि रहे संशोधनका प्रक्रियाबाट सम्बोधन गर्न सकिने स्पष्ट पारे ।
राष्ट्रिय हित र एकताको पक्षमा उभिनु सबै नेपालीको कर्तव्य भएको भन्दै उनले तराई मधेसको बन्द हड्ताल र त्यसले देश र जनताको हित विपरीत पारेको प्रभावप्रति सचेत रहन आग्रह गरे ।
प्रधानमन्त्री ओलीको नेतृत्वमा वर्तमान सरकार गठन भएको यही चैत २५ गते ६ महिना पूरा गरेको छ ।
– See more at: http://dainiknepal.com/2016/143067.html