Apr 17, 2016 आर्थिकन्युज.कम
कावासोती, वैशाख ५ । नवलपरासीको धौवादी-३ पोखरीस्थित फलामखानीको उत्खनन सरकार आफैँले गर्ने उद्योग मन्त्री सोमप्रसाद पाण्डेले बताएका छन् ।
खानी तथा भूगर्भ विभागको टोलीसहित शनिबार खानी क्षेत्र पुगेका मन्त्री पाण्डेले सरकार आफैँले फलामको उत्खनन गर्ने बताएका हुन् ।
मन्त्रालयले सम्भावना भएका खानी, पेट्रोलियम पदार्थको अन्वेशण गरिरहेको छ अब विकासको गति बढ्छ मन्त्री पाण्डेले भने– ’धौवादीको फलाम खानी कुनै निजी क्षेत्रलाई दिइँदैन ।’ उत्खनन हुने बेलासम्म कामलाई निरन्तरता दिन्छौँ उनले भने– ’पैसाका कारणले वर्षमा एक महिना काम गरेर रोक्ने काम हुँदैन, अन्तिम अवस्था नआउँदासम्म निरन्तर काम हुन्छ।’ पूर्वमा नाम्जाकोट पश्चिममा धौवादी र उत्तरमा ल्हापे र दक्षिणमा रुम्सीसम्म फलामखानीको क्षेत्र रहेको छ ।
विस्तृत अध्ययन टोलीले च्यानल सेम्पलिङ, टोपो जियोलोजिकल सर्वे, डिर्लिङलगायतको काम गरेकाले फलाम परीक्षणको काम भारत र चीन अथवा तेस्रो मुलुकमा गरिने मन्त्री पाण्डे जानकारी दिए । आगामी बजेटबाट सडक, खानेपानी र विद्यालयलाई सहयोग गर्ने कार्यक्रमसहित खानीको कामले तीव्रता पाउने उनले बताए ।
दुई किमी क्षेत्रमा झन्डै चार करोड मेट्रिक टन फलाम रहेकाले सरकारले बाँकी आठ किमी क्षेत्रलाई पनि प्राथमिकता साथ काम गर्ने उद्योगमन्त्रीको भनाइ छ । डेढ दुई वर्ष्भित्र यो खानी सञ्चालनमै ल्याउने तयारी मन्त्रालयले गरेको उनले दाबी गरे ।
च्यानल सेम्पलिङमा ५८ प्रतिशतसम्म हेमटाइड वेर (फलाम निकाल्ने तत्व) भेटिएको टोली प्रमुख नरेश महर्जनले बताए। ६० प्रतिशत हेमटाइड वेर उत्तम र ३० देखि ६० प्रतिशतसम्मको मध्यमखालको मानिन् ।
खानी क्षेत्रको पश्चिमपट्टिको भाग र उत्तरपट्टिको भागमा मन्त्री पाण्डेले अवलोकन गरेका छन् ।
२०६७ साल देखि प्रारम्भिक सर्वे भएको यो ठाउँ सुरुमा कोइलाखानीका रुपमा अनुसन्धान गर्न आउँदा फलामखानी भएको पुष्टि भएको थियो । एक महिनादेखि पाँच जनाको भूगर्भ्विद्को टोलीले यस ठाउँको एक सय हेक्टर क्षेत्रफलमा विस्तृत सर्वेको काम गरेको थियो ।
टोलीले अध्ययनको काम सकेर करिब दुई टन नमूना लिएर काठमाडौँ जाने तयारी गरेको भूगर्भ्विद् नारायण बाँस्कोटाले बताएको राष्ट्रिय समाचार समितिले लेखेको छ ।
खानी तथा भूगर्भ विभागका निमित्त महानिर्देशक राजेन्द्रप्रसाद खनाल, उपमहानिर्देशक सोमनाथ सापकोटा, वरिष्ठ इन्जिनियर रुपक खड्का, भुगर्वविद् जनकबहादुर चन्दलगायतका टोली मन्त्री पाण्डेसँगै खानी क्षेत्र पुगेको थियो ।