उज्ज्यालो अनलाइन
नवलपरासी, वैशाख २ – बालिका बलात्कारका आरोपीलाई पक्राउ नगरेको भन्दै कावासोतीका महिलाले बिहिबार स्थानीय प्रशासन कार्यालय घेराउ गरेका छन् । घटना भएको दुई साता बित्दा पनि प्रहरीले दोषीलाई पक्राउ गर्न कुनै चासो नदेखाएको भन्दै उनीहरुले प्रशासन घेराउ गरेका हुन् ।
गएको चैत १८ गते एक १२ वर्षकी बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा पीडित पक्षले तीन जनाको नाममा किटानी जाहेरी दिएपनि हालसम्म कोही पक्राउ नपरेको भन्दै स्थानीय महिला चरणबद्ध आन्दोलनमा उत्रिएका हुन् ।
उनीहरुको आन्दोलनमा बाल क्लब र अन्य अधिकारवादी संघ संस्था समेतले साथ दिएका छन् । ‘बालिकालाई आश्रय स्थलमा राखिएको छ, दोषीहरु घुमिरहेका छन् । पैसाको आडमा पीडकले दमन गर्न खोजेका छन्’ कावासोती नगर स्तरीय राजनीतिक महिला सञ्जालकी अध्यक्ष सरिता लामिछानेले भन्नुभयो ‘दोषीलाई कानुनी दायरामा नल्याउँदासम्म हामी घर फर्कन्नौं ।’ इलाका प्रहरी कार्यालय नवलपुर र इलाका प्रशासन कार्यालयमा धर्नामा बस्ने महिलाहरुले बताएका छन् ।बिहीबार दिउँसोदेखि उनीहरुले धर्ना दिएका कारण इलाका प्रशासन कार्यालयको काम ठप्प भएको छ । गाउँ गाउँबाट हातमा प्लेकार्ड बोकेका महिलाले दोषी पक्राउ नगरे आन्दोलनलाई हिंसात्मक बनाउने चेतावनी दिएका छन् ।
इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरिक्षक परशुराम तिवारीले घटना जघन्य प्रकारको भएको बताउनु भयो । ‘हाम्रो अनुसन्धान नजिक पुगेको छ तपाईहरुलाई छिट्टै नजिता दिन्छौ’ उहाँले भन्नुभयो, ‘अनुसन्धानको घटना भएकाले सबै कुरा भन्न मिल्दैन ।’ इलाका प्रशासन कार्यालयमा अगुवा महिला, पीडित पक्ष, बाल क्लबका प्रतिनिधि, प्रहरी नायव उपरिक्षक तिवारीबिच छलफल भएपनि महिलाहरुले कार्यालय बन्द गराएका छन् ।