Saturday , November 25 2017
Home / Featured / किन रद्द भयो राष्ट्रपतिको भारत भ्रमण :: अन्नपुर्ण पोस्ट

किन रद्द भयो राष्ट्रपतिको भारत भ्रमण :: अन्नपुर्ण पोस्ट

काठमाडौंः आगामी सोमबारबाट हुन लागेको राष्ट्रपति विद्या भण्डारीको भारत भ्रमण रद्द भएको छ ।
बिहीबार राति बसेको मन्त्रिपरिषद्को बैठकले अनुमोदन नगरेपछि राष्ट्रपतिको भारत भ्रमण अन्तिम समय आएर रद्द हुन पुगेको हो ।
राष्ट्रपतिको भारत भ्रमणबारे औपचारिक निर्णय सरकारले नगरेपनि दुबै देशबाट तयारी तीब्र पारिएका बेला रद्द हुन पुगेको हो ।
कांग्रेसका सभापति शेरबहादुर देउवामार्फत सत्तारुढ दल एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई प्रयोग गरेर सरकार ढाल्ने असफल प्रयासमा भारतको हात रहेको निचोड निकाल्दै भ्रमण रद्द गरिएको स्रोतको भनाइ छ ।
वैशाख २७ गतेबाट हुने राष्ट्रपतिको भ्रमणका लागि नेपालस्थित राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालय तथा नेपालस्थित भारतीय दूतावास र भारतीय विदेश मन्त्रालयले राष्ट्रपतिको भ्रमणको तयारी थालेका थिए ।
संविधान जारी गर्नुअघिबाटै असन्तुष्ट रहेको भारतले नेपालको संविधानविरुद्ध विभिन्न शक्ति राष्ट्र र संगठनहरुसम्म अभियान चलाइरहेका बेला उसैको योजनामा ओली सरकार ढाल्ने असफल प्रयास गरिएको सरकारको बुझाइ छ ।
यद्यपि प्रधानमन्त्रीका परराष्ट्रविज्ञ गोपाल खनालले तयारी नपुगेकाले राष्ट्रपतिको भारत भ्रमण स्थगित भएको बताए ।
‘राष्ट्रपतिज्यूको भारत भ्रमणका लागि तयारीका केही काम बाँकी नै थिए’, उनले भने, ‘नेपालबाट ‘हेड अफ द स्टेट’ जाने भएकाले भ्रमणलाई विशेषरुपमा लिइएको थियो । यो भ्रमण तयारी नपुगेकै कारण रद्द भएको हो । यसमा अरु कुनै कारण छन् भन्ने लाग्दैन ।’
भारत भ्रमणमा जाने अन्तिम तयारीमा रहेकी राष्ट्रपति भण्डारीले बुधबार परराष्ट्र मामिला हेर्ने पत्रकारहरुसँग भएको भेटमा आफ्नो भ्रमणबाट दुई देशबीचको असमझदारी अन्त्य हुने विश्वास व्यक्त गरेकी थिइन् ।
एमाओवादी अध्यक्ष प्रचण्डले बिहीबार ‘यु टर्न’ लिएर ओली सरकारलाई नै निरन्तरता दिने निर्णय गरेपछि मंगलबारबाट शुरु भएको सत्ता परिवर्तनको खेल टुंगिएको थियो ।
तीन दिनसम्म सतहमै चलेको सत्ता परिवर्तनको यो खेलको अन्त्य बिहीबार राति भएको एमाले–एमाओवादीबीचको नौ बुँदे सहमतिसँगै टुंगिएको थियो । सोही समयमै बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपतिको भ्रमण अनुमोदन नगरी भारतलाई असन्तुष्टीको स्पष्ट सन्देश दिएको थियो ।
राष्ट्रपति भण्डारीको भ्रमण रद्द भएको सूचना नेपाल सरकारले भारत सरकालाई दिइसकेको छ । परराष्ट्र स्रोतका अनुसार नयाँ दिल्लीस्थित राजदूत दीपकुमार उपाध्यायमार्फत राष्ट्रपतिको भ्रमण रद्दको सूचना भारतीय परराष्ट्र मन्त्रालयलाई शुक्रबारै दिइसकिएको छ ।
नेपालमा भइरहेको सत्ता परिवर्तनको खेल एमाओवादी अध्यक्ष प्रचण्डपछि हटेपछि टुंगिएको अवस्थामा बिहीबारै भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले आफूहरुले नजिकबाट नियालिरहेको टिप्पणी गरेका थिए ।
उनले सरकार परिवर्तनको प्रयासलाई नेपालको आन्तरिक मामिला भएकाले कुनै टिप्पणी नगर्ने तर नेपाल निकट छिमेकी भएकाले आफूहरुले नजिकबाट नियालिरहेको प्रतिक्रिया दिएका थिए ।
राष्ट्रपतिको भ्रमण तत्काललाई नेपाल सरकारबाटै रद्द गरिएको अवस्थामा भ्रमणको अर्को मितिबारे दुबै पक्षले केही बोलेका छैनन् ।
भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले भारतीय राष्ट्रपति मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज र कांग्रेस आईकी अध्यक्ष सोनिया गान्धीलगायत विभिन्न भारतीय राजनीतिक दलसँग वैशाख २८ गते भेट्ने तालिका थियो ।
राष्ट्रपति भण्डारीलाई मध्यप्रदेशको उज्जैनमा हुने कुम्भमेलामा सहभागी हुनका लागि त्यहाँका मुख्यमन्त्रीले भिन्नै निमन्त्रणा दिएका थिए। नयाँदिल्ली भ्रमण सकेर उज्जैन पुगेपछि राष्ट्रपतिले कुम्भमेलामा महिला सशक्तीकरणका विषयमा मन्तव्य दिने कार्यक्रम पनि तय भइसकेको थियो ।

नेपालबाट मात्रै भ्रमण भइरहेको अवस्थामा राष्ट्रपति विद्या भण्डारी भारत गएपछि उचित समयमा भारतका राष्ट्रपति पर्णव मुखर्जीले नेपालको भ्रमण गर्ने बताइएको थियो ।

यसअघि भारतको चार महिना लामो नाकाबन्दी खुलेपछि गत फागनु ७ देखि ११ गतेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको भ्रमण गरेका थिए । त्यो बेला पनि ओलीले दुई देशबीचको असमझदारी अन्त्य भएको दाबी गरेको अवस्थामा भारतले नेपालको संविधानविरुद्ध टिप्पणी गर्दै अन्तर्राष्ट्रिय अभियान नै चलाएको थियो ।
2404 Total Views 6 Views Today

About Narayan Kafle

Check Also

ओली सरकार ढाल्ने देउवाको यस्तो छ ‘प्लान बि’ :: रातोपाटी

काठमाडौं– बैशाख २५, २०७३ रातोपाटी नेपालको राष्ट्रिय राजनीतिलाई उथलपुथल पार्ने आफ्नो पहिलो मिसन फेल भएपछि ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *