Tuesday , September 26 2017
Home / Opinion / चीन र भारतको छद्मयुद्ध :: अन्नपुर्ण पोष्ट

चीन र भारतको छद्मयुद्ध :: अन्नपुर्ण पोष्ट

२७ बैशाख, २०७३ अन्नपुर्ण पोष्ट/युवराज गौतम
इतिहास साक्षी छ- छद्मयुद्ध (प्रोक्सी वार) खतरनाक हुन्छ। त्यसमा मोर्चा, योद्धा, हतियार, सूचना र रणनीति सबै अत्यन्त गुप्त हुन्छन्। परिणाम मात्र देखिन्छ, कालान्तरमा। चीन र भारतको छद्मयुद्ध यहाँ घनीभूत रूपमा अनुभूत भइरहेको छ।
नेपाल साँच्चै अन्तर्राष्ट्रिय खेल मैदान बनेको देखिन्छ। काठमाडौँ काबुल बन्दैछ। नेपाली जनता’भोटिङ मेसिन’ मात्र रहेछन् भन्ने पुष्टि भइरहेको छ। सार्वभौम अधिकार जनतामै छ भनिन्छ, तर सर्वाधिकार विदेशीमै रहेछ। त्यसैले राष्ट्र रसातलमा जाँदै छ।
केही अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले नेपाललाई बुहराष्ट्रिय राज्य भनिदिए। नेपाली बुद्धिजीवी र कतिपय लेखकले’हो-हो’ भन्दै त्यसको समर्थन गरे। धेरै राष्ट्रलाई उपनिवेश बनाउने साम्राज्यभित्र हुन्छ- बहुराष्ट्रिय राज्य।
कुनै शक्तिशाली राष्ट्रलाई केन्द्र मानेर त्यसमा समाहित पृथक् पहिचान भएका राज्यहरू बहुराष्ट्रिय राज्यको परिभाषामा पर्छन्, तर नेपाललाई बहुराष्ट्रिय राज्य मान्ने कुनै आधार देखिँदैन। स्थानीय भाषा, संस्कृति र परम्परा फरक हुँदैमा बहुराष्ट्रिय राज्यका रूपमा नेपाललाई परिभाषित गर्नु र आपसमा मिलेर बसेका जातजातिबीच शोषक र शोषितको पर्खाल ठड्याउनु राष्ट्रमा द्वन्द्व चर्काउने षड्यन्त्र मात्रै हो। आज नेपालमा त्यही भइरहेको छ।
बहुजाति र बहुभाषा रहेको नेपाललाई हिन्दु-बौद्धलगायत प्राचीन धर्म-संस्कृति, राष्ट्रियता, परम्परा तथा नेपाल हाम्रो घर हो भन्ने चेतनाले एकीकृत गरेको छ। त्यसैले फिरङ्गी र उनीहरूका एजेन्टहरू धर्म-संस्कृतिमाथि चौतर्फी हमला गरिरहेका छन्।
केही दिनअघि यस्तै एकजना फिरंगीवादीले’देश (नेपाल) रहोस्-नरहोस् तर मधेस रहनुपर्छ’ भन्ने अभिव्यक्ति दिए। अमेरिकामा पढेर आएका अर्का अधिकारवादी (? ) नेपाल आमा रन्डी भन्दै चिच्याए। अदालतले निर्दोष छन् भनिदियो उनलाई।
उनका थुप्रै लेख, अन्तर्वार्ता, भाषणहरू पत्रपत्रिका तथा विद्युतीय सञ्चारमाध्यममा आउँदा पनि त्यसलाई अदालतले प्रमाण मानेको देखिएन। यस्ता राष्ट्रघाती चरित्रहरू विदेशी पैसाबाट उत्पन्न वर्णशंकर (ठिमाहा) विचार बोक्ने प्रेतात्मा बनेर दलदलमा घुसेका छन्।
श्रीकृष्णले अन्यायका प्रतीक आफ्नै मामा कंसको बध गरे झैँ जबसम्म हामी नेपाली जनता अराजकतावादी दुस्साहसको निर्मूल गर्न ऐक्यबद्ध हुँदैनौँ, तबसम्म यस्तो घृणित चरित्र उद्योगकै रूपमा फस्टाइरहनेछ। विदेशीका कठपुतलीहरू रंगमञ्चमा नाचिरहन्छन्। राष्ट्रद्रोहीहरू दाँत देखाएर हाँसिरहन्छन्।
बीपी चिन्तन प्रतिष्ठानद्वारा हालै काठमाडौँमा आयोजित तीनदिने विचार गोष्ठीमा राष्ट्रियता र प्रजातन्त्रको अन्तरसम्बन्धबारे विशद् छलफल भयो।’जय नेपाल’ भन्दै विदेशीका एजेन्डामा हिँड्ने (बीपीको शब्दमा भुइँफुट्टा वर्ग) कांग्रेसीहरू जय नेपाल होइन’गए नेपाल’ पथमा अघि बढेकोमा धेरैले चिन्ता व्यक्त गरे।
उनीहरूको तर्क थियो, एक सयभन्दा धेरै भाषा र जातजाति रहेको राष्ट्र नेपालमा सबैलाई एउटै राष्ट्रिय झन्डामुनि समेट्ने धर्म-संस्कृति, राष्ट्रियता र प्रजातन्त्रलाई संघीयता, धर्म निरपेक्षता तथा गणतन्त्रको बाह्य एजेन्डाले अत्यन्त कमजोर बनाइरहेको हुँदा राष्ट्र स्वतन्त्र र अखण्ड रहोस् भन्नेहरूले सोच्नैपर्छ।
तराईबाट जनसंख्याका आधारमा संसद्मा प्रतिनिधित्व बढाउँदै जाँदा फिजीमा झैँ’खेत तिम्रो धान मेरो’ हुने निश्चित छ। स्वतन्त्र राष्ट्र फिजीमा ८० प्रतिशत अचल सम्पत्ति भारतीयहरूको कब्जामा छ। संसारका १० राष्ट्रबाट प्रत्येक वर्ष अर्बौं डलरबराबरको सम्पत्ति भित्र्याउँछन् भारतीयहरू। त्यसमा नेपाल पनि पर्छ।
हुन पनि हो, नेपाल खेलमैदान बनेको छ विदेशीको। नेपाल हिन्दु राष्ट्र रहनु हुँदैन भनेर विदेशीले नै सिकाइदिए। हिन्दु राजालाई गद्दीच्युत गर्नुपर्छ भनेर उनीहरूले सिकाए। संघीयता के हो, धेरै नेतालाई थाहा थिएन। त्यो पनि सिकाए विदेशीले। गोष्ठी-सेमीनार र विदेश भ्रमण गराएर राष्ट्र फुटाउने विद्या सिकाए।
 जनताले राष्ट्र र संविधान बनाउन पठाएका व्यक्तिहरू जनप्रतिनिधिको भेषमा धनप्रतिनिधि बने। त्यसैले जनादेश उल्लंघन गरेर धनादेशमा काम गर्न थाले।
२०७२ साल असोज ३ गते ल्याइएको (ल्याइते) संविधानलाई भारत र युरोपियन युनियनले समर्थन गरेनन्। ब्रिटेनले पनि विरोध गर्यो।
लन्डन र ब्रसेल्सबाट नेपाली संविधानको विरुद्धमा वक्तव्य आयो। ०७२ असोज २४ गते नयाँ सरकार बनेपछि त्यसलाई चीनले काखी च्यापेको भन्दै दिल्लीले विरोध गर्यो। तर राजनीतिक स्थायित्व नभएको नेपाली राजनीतिबारे चीन सरकार आज पनि विश्वस्त देखिँदैन।
त्यहाँका परराष्ट्रमन्त्री वाङ यी भन्छन्,’नेपालले राजनीतिक स्थायित्व कायम गर्नुपर्छ।’ चीनको आशंका छ, त्यसो हुन नसकेमा नेपालले चीनसँग गरेका सम्झौता र समझदारीहरू अनाथ बन्नेछन्। समझदारी मात्र होइन, राजनीतिक अस्थिरताले संविधानलाई नै टुहुरो बनाइदिने खतरा देखिएको छ।
यहाँ त संविधान नै अनाथ बन्ने वा सास फेर्न नसकेर स्वेच्छामृत्यु (युथेनेसिया) स्वीकार गर्न बाध्य हुने अवस्था छ। विदेशीको वीर्यबाट जन्मे पनि अवैध, वर्णशंकर र बतासे भनेर बद्नाम संविधानलाई सक्रिय तुल्याउन हजारौँ नेपालीको बलि दिनुपर्ने अवस्था आउन सक्छ।
संघीयताका पक्षमा तराईमा दुईपटक भएको रक्तपातमा झन्डै एक सयजनाले प्राणोत्सर्ग गरिसकेका छन्। त्यो त सिनेमाको पूर्वांश (ट्रेलर) मात्रै हो। हिन्दीमा भन्छन् नि,’अभि पिक्चर बाँकी है।’
चीनले चाहेजस्तो गर्दा भारत, युरोप र अमेरिका रिसाउने, भारत र पश्चिमको आदेश मान्दा चीन रिसाउने। नायक भुवन केसीले रेडियो नेपालमा ३५÷३६ वर्षअघि एउटा गीत गाएका थिए,’जेठी छोडुँ घरवार जान्छ, कान्छी छोडुँ माया लाग्छ, परेँ म दोधारैमा।’ नेपालका विदेशवादी नेताहरूको मनोविज्ञान आज त्यस्तै छ।
 विदेशीको दानापानी खाएपछि राष्ट्रवादी बन्न सकिँदैन। मध्यरातमा संविधानको विरोध गर्दै सुतेका केही ‘राष्ट्रवादी’ नेताले बिहानै उठेर संघीयता, गणतन्त्र र धर्म निरपेक्षता स्वीकार गरे। त्यसवापत पद पनि पाए। अरू केके लिए, त्यो समयले बताउला। राष्ट्रघाती संविधान भन्दै चौतर्फी विरोध भइरहँदा त्यस्तो संविधानलाई’उत्कृष्ट’ भने अवसरवादीहरूले। मतदाता छक्क परे।
बागलुङका पुराना राजनीतिज्ञ तथा समाजसेवी बलराम हमाल ठकुरी भन्छन्,’०६२÷६३ सालमा विदेशीले मञ्चन गराएको नाटक पनि राजा वीरेन्द्रको हत्या र मदन भण्डारीको रहस्यमय मृत्युपछिको अर्को कडी थियो। त्यसमा राजा ज्ञानेन्द्र एक्लै हारे। राष्ट्रनायक मात्रै हार्ने कस्तो युद्ध थियो त्यो? राजदरबारले हुर्काएका वा विश्वास र भरोसा गरेका प्रायः सबै गणतन्त्रमा मिल्न गए। राजालाई शक्तिहीन बनाइएपछि नेपालमा कुन संस्था बलियो भयो त? कार्यपालिका?
न्यायपालिका? व्यवस्थापिका? वा नयाँ राजनीतिक प्रणाली ?राष्ट्रलाई नै कमजोर बनाउँदा हामी किन खुसी हुने? किन विदेशीका एजेन्डा समर्थन गर्ने ?       सोह्र-सत्र वर्ष गाविस, नगरपालिका र जिविसको निर्वाचन गराइएन। यसरी लोकसम्मतिविना सञ्चालन गर्ने पद्धति कसरी लोकतन्त्र हुन्छ? ‘
उनले उठाएका यस्ता प्रश्नको उत्तर दलहरूसँग छैन। दलको काम छल गर्नु मात्रै हो त? विदेशीका दास बनेर बस्नेहरूले व्यक्तिगत सुखसुविधा मात्र खोजेका हुन् भने उनीहरूका विदेशी मालिकहरूले आआफ्ना राष्ट्रमा एकएक वटा’अमलेखगन्ज’ बनाएर राखे हुन्छ। त्यसपछि नेपाली आत्माले चलाउँछन् देश। विदेशीको छद्मयुद्ध स्वतः बन्द हुन्छ। नेपाल फिजी हुन पाउँदैन।
नेपाली जनता आज आत्मरक्षाको तयारीमा जुट्नुपर्ने अवस्था छ। यो स्थितिले आत्मरक्षाको अधिकार (राइट् अफ सेल्फ डिफेन्स) प्रभावित हुन सक्छ। रोमन ल अथवा लेभियाथान (सन् १६५१) जस्ता ग्रन्थमा वर्णित व्याख्याभन्दा पृथक् र भयावह हुन सक्छ, हाम्रो अवस्था।
पृथ्वीनारायण शाहका शब्दमा’जाई कटक नगर्नू झिकि कटक गर्नू’ भनेको यही हो। किनभने नेपालभित्र नेपालीबाहेक अरूलाई विश्वास गर्ने अवस्था अब समाप्त हुँदै गएको छ। जो नेपाली भएर पनि नेपालकै विरुद्ध काम गर्छन्, ती सरासर राष्ट्रघाती हुन्। राष्ट्र टुक्र्याउन खोज्नेलाई कसरी नेपाली भन्ने?कसरी विश्वास गर्ने?
तराईबाट जनसंख्याका आधारमा संसद्मा प्रतिनिधित्व बढाउँदै जाँदा फिजीमा झैँ’खेत तिम्रो धान मेरो’ हुने निश्चित छ। स्वतन्त्र राष्ट्र फिजीमा ८० प्रतिशत अचल सम्पत्ति भारतीयहरूको कब्जामा छ। संसारका १० राष्ट्रबाट प्रत्येक वर्ष अर्बौं डलरबराबरको सम्पत्ति भित्र्याउँछन् भारतीयहरू। त्यसमा नेपाल पनि पर्छ।
 राजसंस्था हटेपछि अस्थिरता बढेर नौ वर्षमा आठजना सरकार प्रमुख (गिरिजाप्रसाद कोइराला, पुष्पकमल दाहाल, झलनाथ खनाल, माधवकुमार नेपाल, बाबुराम भट्टराई, खिलराज रेग्मी, सुशील कोइराला र खड्गप्रसाद ओली) परिवर्तन भए पनि जनताले भोग्नुपरेको महँगी, भ्रष्टाचार, ढिलासुस्तीलगायत समस्या झन् विकराल बन्दै गएको देखिन्छ। विदेशीको हस्तक्षेप अभूत पूर्वरूपमा बढेको छ। हरेक निर्णयमा विदेशीले सरकारलाई आदेश÷निर्देश दिने परम्परा टुटेको छैन।
टाठाबाठाहरू सबैजसो दलका कार्यकर्ता छन्। तल्लो तहका दुःखी जनता असंगठित छन्। यही कारणले लोकतन्त्रका नाममा बहुमतको नाताशाही चलेको छ र राष्ट्र बन्दैछ, कुरुक्षेत्र।
3823 Total Views 6 Views Today

About Narayan Kafle

Check Also

भ्रष्टाचारको अग्रगति :: गोरखापत्र

बैशाख २८, २०७३ – गोरखापत्र/श्याम शङ्कर जोशी अन्य क्षेत्रमा उन्नति गर्न नसके पनि बढी भ्रष्टाचार ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *