Tuesday , September 26 2017
Home / Top Stories / काठमाडौंमा यूएईको दूतावास :: कान्तिपुर

काठमाडौंमा यूएईको दूतावास :: कान्तिपुर

वैशाख २८, २०७३- कान्तिपुर 

वैदेशिक रोजगारी र घुमफिरको आकर्षक गन्तव्य संयुक्त अरब इमिरेट्स (यूएई) ले लामो प्रयासपछि काठमाडौंमा दूतावास खोलेको छ । यसबाट भिसाका लागि भारतको नयाँदिल्ली जानुपर्ने बाध्यता हटेको छ । लाजिम्पाट ओरालोमा स्थापना भएको दूतावासले नै सबै प्रकारका भिसा जारी गर्नेछ ।

उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा र यूएईका विदेशमन्त्री अब्दुल्लाह विन जाएद अल नहयनले संयुक्त रूपमा उद्‍घाटन गरेका हुन् । दुवै मन्त्रीले नेपाल–यूएई सम्बन्ध थप उचाइमा पुगेको बताए । खाडी मुलुकमा नेपालीको उपस्थिति बाक्लो छ । यसअघि साउदी अरब र कतारले काठमाडौंमा दूतावास स्थापना गरिसकेका छन् । साउदीमा धेरैअघिदेखि नेपाली दूतावास छ । कतार र यूएईमा पनि नेपाली दूतावास खोलेको १२ वर्ष भएको छ ।

यूएईका विदेशमन्त्री अब्दुल्लाह विशेष विमानबाट मंगलबार काठमाडौं आइपुगेका हुन् । उनको सम्मानमा उपप्रधान तथा परराष्ट्रमन्त्री थापाले मंगलबारै दिवाभोज गरेका थिए । त्यस क्रममा दुईपक्षीय सम्बन्ध, पर्यटन, लगानीलगायत विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । विदेशमन्त्री अब्दुल्लाहले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरे ।

भेटमा प्राकृतिक स्रोत साधनको उपयोग, पर्यटन, व्यापार, लगानी, नेपालको प्राकृतिक सौन्दर्यलगायत विषयमा छलफल भएको थियो । त्यसक्रमा परराष्ट मन्त्री थापाले ‘डिम्पोम्याटिक’ र ‘अफिसियल’ राहदानी वाहकलाई  ‘अनरेवल भिसा’को व्यवस्थाका लागि आग्रह गरेका थिए भने यूएईका मन्त्रीले दुई देशबीच बीप्पा सम्झौताका लागि आग्रह गरेका थिए । नेपालको प्राकृतिक सौन्दर्य र नेपालीको मेहनत तथा इमानदारीको पनि उनले प्रशंसा गरे । उनले आफू तेस्रो पटक नेपाल आएको बताए । दुईपक्षीय भेटघाट सकेर उनी मंगलबारै स्वदेश फर्किएका छन् । ६ सदस्यीय टोलीको नेतृत्व गरेर आएका मन्त्री अब्दुल्लाहका साथ नयाँ राजदूत सहिद अल नकवी पनि थिए । उनी केही महिनाअघि राजदूत भएर आएदेखि नै दूतावासको तयारी थालेका थिए । दूतावास स्थापनाले पेट्रोलियम पदार्थको उत्खननमा प्राविधिक सहयोग लिन थप सहज हुने परराष्ट्र स्रोतले बतायो ।

नेपालमा कुवेतले पनि दूतावास स्थापना गर्ने बताएको छ । बहराइन, ओमनमा पनि नेपालले दूतावास खोलिसकेको छ । त्यहाँका पनि दूतावास नेपालमा छैनन् । नेपालमा २६ मुलुकका दूतावास छन् भने नेपाली दूतावास २९ मुलुकमा छन् ।

 

1519 Total Views 3 Views Today

About Narayan Kafle

Check Also

कमल थापाले भने, ‘सरकार कम्तिमा डेढ वर्ष टिक्छ’ :: नयाँ पत्रिका

काठमाडौँ, २५ वैशाख  २०७३ नयाँ पत्रिका  उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले वर्तमान सरकार कम्तिमा डेढ ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *